परिवर्तन
- होमलाल
बिगतका दुई आन्दोलनले के कस्ता परिवर्तन ल्याए? ०४६ सालको आन्दोलनले पञ्चायतको अन्त्य गरी प्रजातन्त्रको स्थापना, ०६४ को आन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरे। अरु दुर्घटना नहुने हो भने यो ठूलो उपलब्धि मान्नु पर्छ। तर भाबी दुर्घटना निम्त्याउन सक्ने पुर्वाधार पनि यी आन्दोलनले गरेका छन्।
सर्व प्रथम, ०४६ को आन्दोलनले प्रहरी सुरक्षा संरचना ध्वस्त भयो। देशका रक्षकलाई दुष्मनलाई झै ढुंगामुढा र कुटपिट गर्न थालेपछि उनीहरुको आत्मबल कमजोर भयो। उनीहरु आफ्नै सुरक्षा गर्न असमर्थ भए भने उनीहरुले जनताको सुरक्षा दिने कुरै भएन। माओवादी जनयुद्धले त उनीहरुको केही बचेको शक्ति नि ध्वस्तै भयो। यसले देशभर कति असर पार्यो, हत्या-हिंसा, चोरी-चकारी कति बढ्यो, त्यसको लेखाजोखा कुनैदिन होला।
दोश्रो, माओवादी आन्दोलन र त्यसपछि माओवादी संमिलित दोश्रो जनआन्दोलने सेनाको शक्ति संरचनालाई क्षतबिक्षत बनायो। ज्ञानेन्द्रको पत्रकार सम्मेलन र त्यसपछिको विदाईको दृष्यले के देखाउछ भने उसले सजिलै गद्दी नत्यागेको भए उ नेपाली चाउचेस्को हुने निश्चित थियो। त्यसबाट अहिलेको सेनाको बल कस्तो छ भन्ने झल्किन्छ। कमजोर सेनाले देशको कसरी सुरक्षा दिन्छ?
कर्मचारीतन्त्रलाई नि आन्दोलनले कमजोर पार्यो। उनीहरुलाई खुला रुपमा पार्टी समर्थनमा उत्रिन प्रेरित गरियो। यसले गर्दा घुसखोरीले थप बैधानिकता पायो। जसले जे गरेपनि हुने भयो राजनैतिक शक्तिको आड लिएर। तैपनि, बिग्रेको कर्मचारीतन्त्रले राष्ट्रिय सुरक्षामा खासै खतरा नपुर्याउला थप नागरीकताको बिक्री बितरण रोकिए।
आन्दोलनले भित्र्याएको सबै भन्दा ठूलो बिकृति हो – जे मागे नि मिल्ने आन्दोलन। नेपालमा आन्दोलन गरेपछि नपाईने कुरा केही छैन। अब त्यसलाई मूर्त रुप दिन छुट्टै राज्यको लागि आन्दोलन हुदा के ले रोक्ने? हिजो भारतले नाकाबन्दी गर्दा एक भएका नेपालीहरु अब मधिसेले त्यही नाका रोक्दा कसलाई दोष दिने? मधिसे र पहाडेको बैमनस्यताले के जन्माउछ? तेश्रो पक्षले यी दुई बीच कसरी फाटो ल्याउन सक्छ भन्ने एक्सपेरिमेन्ट त कपिलबस्तु काण्डले देखाई सक्यो। पार्टी र नेताहरु कुर्सीको लुछातानीमा बसेको बेला, यी राष्ट्रिय सवालहरुलाई कसले बिचार गर्ने?
राजा र राजकुमार चरित्रवान थिएनन् भन्ने त राजावादीहरुले नि स्वीकार गरेकै हुन। तर राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको सवालमा उनीहरुको स्थान रहन सक्थ्यो कि भन्ने नि अन्त्य भै सक्यो। बहुमत बालिगको मन जान्ने मौका नि पाएन त्यो संस्थाले। एउटा कलंकित राजा हट्दा नि दुःख मान्नु पर्ने पक्ष के छ भने, यो निर्णय हाम्रो कि बाहिरी हो भन्ने नै बुझ्न सकिएन। किनभने, राजा ले गद्दी छाडे भारतीयको ईशारामा, ७ पार्टी मिले भारतीय ईशारामा, आन्दोलन भयो भारतीय सहयोगमा, नेताहरुको गोप्य वार्ता हुन्छ भारतमा र भारतीय दुताबासमा। अब अरु के के हुने हो? सम्विधान देखि तराई पहाड हिमालको संरचना?
या फेरी हिजो नेपालीले गरेको भनिएको भारतीय बिमानको अपहरण जस्तै अर्को काण्ड रचिने हो, जसले भारतीय सुरक्षालाई खतरा पुगेको आभास होस। राजा रहेनन्, प्रहरी र सेना सुरक्षा दिन समर्थ छैनन्, अनि भारतीय सेनाले फेरी नेपाल पस्ने त हैन? राजनीति जस्तो फोहोरी खेलमा जे नि सम्भब छ। खासगरी जो देशका नेताहरु लेण्डुप दोर्जे हुने होडबाजीमा छन। स्थिति गम्भिर छ, तर याचना गरौ यस्तो दिन हाम्रो प्यारो देश नेपाल र नेपालीले कहिल्यै देख्नु नपरोस। भगवान भरोसा भन्छन् नि!