ए डिलु कान्छा ! जसको बारेमा लेख्न थालेको छु । उनी कुनै विशेष पात्र होइनन् । न समाजको लागि न उसको परिवारको लागि ! सायद स्वयम् आफैलाई पनि ! मैले सुनेसम्म उसको नागरिकता पनि छैन । त्यसैले उसको नाम आजसम्म कुनै सरकारी ढड्डामा लेखिएको छैन । उसलाई उसको आफ्नो नाम पनि लेख्न आउदैन । त्यसैले मेरो भ्रम नै सहि, उसको नाम कोरिएको यो “पाना” पहिलो पाना हो । “डिलु कान्छाको” कथा लेखिएको कथा भने निसंदेह यो पहिलो कथा हो । उनी सायद उमेरमा जेठो छन्, म भन्दा ! कति वर्षले यकिन साथ भन्न सक्दिनँ । शरीर उसको फुटबल जस्तो छ । पेट पनि मुहार पनि; काटेकुटे उस्तै ! होचो कद, प्याट्ट निस्केको भुँडी ! उ हिड्दा लाग्छ कतै ओरालोमा एउटा फुटबल गुडिरहेछ । बेफिकर र बिन्दास ! उनी सबैको लागि डिलु कान्छा हुन् । मेरो निम्ति, उनको घरको निम्ति र समाजको सामू ! बाटो हिड्न, बोल्न र चिन्न जान्ने प्रत्येक केटाकेटीले उनलाई त्यही नामले बोलाउछन् -“डिलु कान्छाको” नामले ! म जस्ता उसका उमेर वरपरका समकक्षी र प्रत्येक बुढाखाडाले उनलाई सोही नामले पुकार्छन् । सबैको पुकार प्रति उनले सधै एकै र एउटै जवाफले आदर फर्काउछन् । एउटै नजरले उत्तर दिन्छन् । त्यो हो उनको मुस्कानको आदबको जवाफ ! एउटा निर्दोष प्रतिक्रिया । एक करुणामय हेराइ र माया लाग्दो हाँसो ! के यो नजर समबोधी नजर होइन ? यसमा लुकेको मिहिन आध्यात्मिक अर्थले मलाई हरेक पल घोच्छ । बाँकी समाजले उसको चेतनाको चस्माले र अर्थले हेर्दा उसको हाँसोको जवाफलाई खिल्लीमा उडाउछन् । तर मलाई यो हाँसोले हृदय भित्रैसम्म आभारको आभास दिइराख्छ । त्यसैले मेरो कथाको पहिलो रोजाईको पात्र हो- “डिलु कान्छा !” तपाईको घरछिमेकमा कतै भोज भतेर या अन्य कार्यक्रम भए उनलाई निम्ता दिए उनी पुगेकै हुन्छ । उनको पाइतलाले टाढा र नजिकको दुरी नाप्न थाल्दैन । उनको मन र मस्तिष्कले समय, अवस्था, र अल्छिपनाको तगारोलाई सदैव नकार्छ । उनी पुगिदिन्छन् । उत्सुकता र मुस्कानका साथ निम्ता मानिदिन्छ । तपाईंको मानमा उनले मान थपिदिन्छन् । अपमानमा बाह्रैमास फुलिराख्ने मुस्कानको फूल फुलाइदिन्छन् । अनि आफ्नो बाटो लाग्छन् । देउसीभैलोमा बोलाइदिनुस्, तपाईंको छेउछाउमै नाचिदिन्छ। गीत गाउन नजान्दा तालीले लय थपिदिन्छन् । काम अर्हाउनुस्, तपाईलाई उहीँ उमंगसाथ सघाउन थाल्छ । उनको यस्तो कर्मलाई म निष्काम कर्म किन नभनुँ? त्यसैले उनले मेरो हृदयका तार र कलमको निबलाइ घोचिराख्छन् । डिलु कान्छा सच्चा हृदयको असली नायक हुन्। उनी मेरो आँखा अगाडि मेरै पसल हुँदै हिडिरहेका हुन्छन् । कहिले खोलेनिको बाल्टी बोकी हिडछन् । कहिले उसलाई के काम पर्छ त कहिले के काम ! उनी बेलाबेला मेरो पसल पनि धाउछ्न् । नजिकको होटलको सामान किनिदिनको निम्ति ! सुर्ती लिन आउँदा “खाइकुरा” चाहियो भन्दै माग्छ । “अर्ना” लाई अरुना बिएर भनेर पुकार्छन् । उनको बुझ्ने बुझाउने आफ्नै भाषा छ । आफ्नै शैली छ । त एकदिन यसै पसलमा छिरे । उनी खुशी साटन छिरेको रहेछ । “दाई मैले आज तिनटा जागे पाएनी !” यसो भन्दा उनको अनुहारमा बेग्लै तेज थियो । उनको खुशीको उचाइ सगरमाथाभन्दा पनि उचो थियो । उनको मुस्कानको गहिराइ प्रशान्त महासागर जत्तिकै गहिरो थियो । मैले हो र: मात्रै भनेको थिए …उनले हतारमा आफ्नो खुशीको उत्तरको आयतन बढाइहाल्यो । हो नि दाई ! अब जागे थपिए ! यो पालिको जागे बाहिर हिड्दा मात्रै लगाउने ! कसैले लगाइसकेर उनलाई दिएको जागेमा उनको कत्रो खुशी ! उनको प्रफुल्लताको तेज, रौनक र ओजश देख्दा म पनि खुशी नभई बस्न सकिनँ । मेरो लागि, खुशी साटे बढ्छ भन्ने कुराको सजिव दृष्टान्त थियो त्यो क्षण। कहिलेकाहीं उनको हातमा एक मुठी चिउरा र चिनी थमाइदिन्छु । त्यसबखत उनको कृतज्ञता र हर्षले सबै सिमाना नाघिदिन्छन् । त जीवनको सार यो पो हुनुपर्ने ! आँखाभरी कृतज्ञताले हेरि मात्रै दिनुपर्ने । हातमा कसैले थमाइदिएको चिज चाहे ठूलो होस् या एक मुठी चिउरै मात्र ! जीवनमा उनका यस्ता असंख्य लोभलाग्दा किस्साहरु छन् । उनमा न कुनै लोभ छ न कुनै आकाङ्क्षा । संवेदनाहरुको पर्दामा राखेर उनको जीवन चिहाउने हो भने उनको जीवन एक रंगिन ब्लकबस्टर चलचित्र जस्तै छ । बाँकी समाजले थुपारेका फोस्रा मानक, मान्यता र चलनहरुको चस्माले चिहाउँदा उनी केही निस्कनन् । त्यतिबेला उनी केबल “डिलु कान्छा” मात्र हो । लेख्दा अहिले शंकर लामिछानेलाई सम्झिरहेछु । कतै भिमदर्शन रोकाको एक भनाइ उनले उद्दृत गरिदिएका थिए । “कविता त समाजमा छरिएर बसेका छन्: बस टिप्न सक्नुपर्छ ।” साहित्यको नजरमा डिलु कान्छा यस्तै छरिएको कथा मध्यको एक हो । जे होस् ‘डिलु कान्छा’ आज मेरो डायरीको प्रमुख नायक हुन् । यो लेखको सिंगो महानायक । महाकवि देवकोटाले एक साँढेसंग लखेटिँदाको दिन साँढेको बारेमा निबन्धमा लेखेको थिए । “चिल्लो पुष्ट साजी उग्राउदो साँढे सब सुखाभिलाषीको एक अमुखरित तर अत्याधिवान्छित आदर्श हो । प्रत्येक नागरिक यहि अवस्था चाहान्छ ।” त म आज किन लेख्ने दुस्साहस नगरु, आजको मान्छे डिलु कान्छा जत्तिकै उमंगपूर्ण, उत्सुक, सुखी, खुशी र आनन्दमय हुन चाहान्छ । बस उनले आफ्नो आदर्श चरित्र अन्त कतै पर खोजी भौतारिरहेको हुन्छ । सायद चेतना, आर्थिक, भौतिक, आध्यात्मिक सुधार र व्यापकतासहितको “डिलु कान्छा” खोजिरहेको हुन्छ । कहि यो अन्तिम हरफ लेख्दा अन्याय त गरिनँ ? भएछ भने बाँकी उनको बारे फेरि अर्को कथा लेखेभने आफूलाई सुधारौंला ! “डिलु कान्छा” तिमी बारे लेखिएको यो धर्तीको पहिलो कथा कस्तो ठान्यौ? Suman bhattarai